स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पतालको अनुगमन
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । मन्त्री बस्नेतले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालको अनुगमन गरेका हुन् ।
मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गरेका थिए भने अस्पतालमा भर्ना भएका विरामीहरुको अवस्था बारे जानकारी लिएका थिए ।
मन्त्री बस्नेतलले अनुगमन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव रहेको र अस्पतालको अभाव परिपूर्ति गर्न थप स्वास्थ्यकर्मी पठाइने प्रतिबद्धता जनाए ।
उनले आर्थिक रुपमा विपन्न परिवारका लागि १० प्रतिशत बेढ निःशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न अस्पताललाई निर्देशन दिए ।
अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय आवद्ध हुने गरेको परम्परालाई अब तोड्दै सरकारी स्वास्थ्यकर्मीले सरकारी अस्पतालमा मात्रै काम गर्ने वातावरण मिलाउने बताए ।
यस्तै, सोही क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौंडा अस्पतालमा विरामीको चाप निकै रहेको र विरामीको चाप अनुसार अस्पतालले सेवा सुविधा प्रवाह गर्न नसकिरहेको सन्दर्भमा त्यो समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारले पहल गर्ने बताए ।
सो अवसरमा हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० बेर्ड क्षमतामा मात्रै संचालनमा रहेकोमा प्रतिष्ठान र व्यवस्थापन समितिमार्फत् थप १५० थप गरी संचालन भइरहेको जानकारी दिए ।
