अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, तनहुँ, मोरङ, कैलाली र कञ्चनपुर गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्रामसहित मोरङ कानेपोखरी गाउँपालिका–४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूलाई बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ३४ वर्षीय बिकाश लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङको बेलबारी नगरपालिका–११ स्थित केशल्या पुलबाट अवैध लागूऔषध ब्राउन सुगर २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका–११ बस्ने २१ वर्षीय दिपेन राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहनगरपालिका–१३ राजपुर गाउँबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र २४ वर्षीय गणेश राना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २४ वर्षीय भिम बहादुर सिजालीसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
