गरिब परिचयपत्रका आधारमा निःशुल्क उपचार गराउन निर्देशन

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार १५:४९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब परिचयपत्रका आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार प्रेसविज्ञप्ति जारी गर्दै गरिब पहिचान परिचयपत्रका आधारमा १० प्रतिशत शय्यामा गरिबको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीस्तरकै मिति यही जेष्ठ १९ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने सिफारिस गरिब पहिचान परिचयपत्र समेतलाई आधारमानी अस्पतालहरूले स्वीकृत कुल शय्याको १० (दश) प्रतिशत शय्यामा त्यस्ता बिरामीहरूलाई निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र अनिवार्य अनुगमन गर्नु गराउनु हुन् अनुरोध छ ।’

कानूनी व्यवस्था कार्यान्वयन गर्न तीव्र अनुगमन पनि गरिने मन्त्रालयका उपसचिव एकदेव खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।