लागूऔषधसहित २ जना पक्राउ
धनगढी । कैलालीमा लागूऔषधसहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।
शंकाका आधारमा चेकजाँच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, शनिबार साँझ नै टीकापुर नगरपालिका–९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले थप एक युुवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ पुर्वीखैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारा रहेका छन् । कडारालाई शंका लागेर चेकजाँच गर्ने क्रममा ९४० मिलीग्राम खैरोहेरोईनसहित उनलाई पक्राउ गरिएको हो ।
धनगढी र खक्रौलाबाट लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
