यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ

तु खबर संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १९:३६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिएका छन् ।

गत जेष्ठ १७ गतेदेखि आजसम्म लगातार तीन दिनसम्म संचालन भएको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नहरुको मुख्यमन्त्री जम्मकट्टेलले जवाफ दिएका हनु् ।

सो बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकारले राष्ट्रिय गौरबको आयोजना र बहुवर्षीय योजनालाई आगामी आर्थिक वर्षको बजेटमा सबै सांसदहरुको सुझाव अनुरुप समेटिने र कार्यान्वयन गर्नेतर्फ सरकार सकरात्मक रहेको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा चालु आवको भन्दा आगामी आवको नीति तथा कार्यक्रम जनमुखी, जनताप्रति जवाफदेहीबोध गर्नेखालको तर्जुमा गरिएको र त्यसलाई प्रदेशको १३ वटै जिल्लामा क्रमशः स्रोतसाधन परिचालन गरी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रत्यक सामुदायिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने र प्रदेशको १३ वटै जिल्लामा खरको छाना भएका नागरिकहरुलाई अब क्रमशः जस्ताको छानो उपलब्ध गराउँदै लैजाने नीतिको अबलम्वन गर्ने बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले साुमदायिक विद्यालयमा नीतिगत कार्यक्रम तर्जुमा गरी शिक्षालाई गुणस्तरीय, जवाफदेही र दक्ष जनशक्ति उत्पादनका लागि शिक्षकहरुलाई सिपमूलक तालिम उपलब्ध गराउँदै लैजाने उद्देश्य रहेको बताए ।

प्रदेशको सबै जिल्लाको माध्यमिक शिक्षातर्फ शिक्षकहरुलाई सिपमूलक तालिम उपलब्ध गराई आगामी आव २०८०/८१ देखि विज्ञान प्रविधिको ज्ञान, प्रयोगशाला र वैज्ञानिक अनुसन्धानको लागि योजना र बजेट छुट्याएर कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गरे ।

उनले प्रदेशको दुर्गम भेगमा रहेका सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि गुणस्तरीय सेवा प्रदान गर्न प्रादेशिक अस्पतालहरुलाई स्तरोन्नती गरी दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालालाई अत्याधुनिक सेवा प्रदान गर्न सरकारले नीति तर्जुमा गरी कार्यान्वयन गर्दै लैजाने बताए ।

अधिकांश प्रदेश सभाका सदस्यहरुको भावना कदर गरेर कृषि उत्पादनको लागि सिचाईँको दीर्घकालिन प्रवर्धन गर्ने र प्रदेशको पायक पर्ने स्थानमा रसायनिक मल कारखाना स्थापना गर्ने लक्ष्य रहेको र आगामी आवदेखि सो सम्बन्धमा अनुसन्धान सुरु गर्ने जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशमा रहेका आदिवासी जनजाति, चेपाङ, सिमान्तकृत वर्गलाई स्वास्थ्य उपचारको साथै आर्यआर्जनको प्याकेज कार्यक्रम, शिक्षा आर्जनको लागि छात्रवृत्ति उपलब्ध गराउने र सो को लागि कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिने र त्यसको सम्बन्धित निकायमार्फत अनुगमन गर्ने बताए ।

उनले प्रदेशको पायक पर्ने स्थानमा कृषि विश्व विद्यालय स्थापना गर्ने कार्यको लागि सम्भाव्यता गर्न कार्यदल गठन गरी गृहकार्य गर्ने र कृषकहरुलाई समयमा मल, विउँ उपलब्ध गराउन कृषि मन्त्रालयलाई जिम्मेवारी दिई कार्यान्वयन गर्नेतर्फ पहल गर्ने दृढता व्यक्त गरे ।

प्रशासन यन्त्रलाई सुशासन, भ्रष्टाचारमुक्त बनाउँदै प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरबको आयोजना र आधारभूत विकास परियोजनालाई कार्यान्वयन गर्दै लैजाने नीति अनुरुप बजेटलाई निर्धारण गरिएको उल्लेख गरे ।

उनले हेटौंडाबाट काठमाडौं जोड्ने पोष्ट बहादुर बोगटे भीमफेदी–कुलेखानी सुरुङ मार्गलाई आगामी आवदेखि निर्माण प्रकृयामा लैजान आवश्यक तयारी गर्ने उद्देश्यका साथ गृहकार्य भइरहेको उल्लेख गरे ।

उनले काठमाडौंबाट हेटौंडा जोड्ने दक्षिणकालिका–कुलेखानी, सिस्नेगरी, हुमाने सडकखण्डमा अहिले निर्माण कार्य तीब्र रुपमा भइरहेको उल्लेख गर्दै मौसम अनुकुल भएमा आगामी असोज मसान्तसम्ममा निर्माण कार्य पूरा भइसक्ने र यातायात क्षेत्रलाई संचालनमा सुविधायुक्त बन्ने विश्वास व्यक्त गरे ।

यसैगरी, उनले भैसे–भीमफेदी सडकको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै प्रदेश सरकारले अब पेट्रोलबाट चल्ने सवारीसाधनलाई भन्दा विद्युतीय सवारी साधनलाई खरिदमा प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत हेटौंडा अस्पतालको स्तरोन्नतीको साथै दक्ष चिकित्सक, स्वास्थ्य कर्मी र प्रयोगशालालाई सुविधायुक्त तुल्याइएको र गम्भीर प्रकृतिको मुटु, क्यान्सर र मृगौला पीडित बिरामीहरु बाहेक अरु सबै प्रकारका बिरामीहरुलाई हेटौंडा अस्पतालमा नै उपचार कार्य प्रभावकारी तुल्याइरहेको जानकारी दिए ।

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बैठक अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरे ।