फ्रान्स पठाइदिने भन्दै ४० लाख ठगी, पाख्रिन पक्राउ
काठमाडौं । प्रहरी कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका–३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका पाख्रिनमाथि फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै प्रतिव्यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको आरोप छ ।
