लागूऔषधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार १७:५४

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुनसरी, बाँके, सिरहा र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश करिब ३ केजी ६२० ग्रामसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ स्थायी बतन भएका ४१ वर्षीय तेम्बा शेर्पा रहेका छन् । थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–९ खर्गौलाबाट अवैध लागूऔषध खैरो हेरोईन ५ ग्रामसहित प्रहरीले जानकी गाउँपालिका–४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–८, गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर ५०० मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका–१२ बस्ने २४ वर्षीय सुबास पुनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–४, बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पसलभित्र रहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।