बागमती प्रदेश : नीति तथा कार्यक्रम ल्याउन एमालेको सुझाव

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सुझावहरु समेटेर मात्र आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न सुझाव दिएको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा आफुले दिएको सुझावहरुलाई जोड दिनका लागि आग्रह गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले बताए ।
पत्रकार सम्मेलनमा उक्त नीति तथा कार्यक्रमका लागि आफ्नो पार्टी यसअघि पनि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा लगायतका सबै मन्त्रालयहरुलाई सुझाव दिएको प्रमुख सचेतक पौडेलले बताए ।
बागमती प्रदेश सरकारले यही जेष्ठ १४ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलले विभिन्न सुझावहरु दिएको हो ।
एमालेले नीतिगत तथा संरचनागत सुधार, सुशासन र गुणस्तरीय सेवा, दिगो आर्थिक विकास, शिक्षा, सामाजिक विकास, स्वास्थ्थ तथा सामाजिक सुरक्षा, खेलकूद, पर्यटन/संस्कृति र सम्पदा, कृषि तथा वन, खानेपानी, सिंचाईँ, वातावरण, जलवायु परिवर्तन, प्रकोप नियन्त्रण, भौतिक निर्माण, उर्जा विकास र जनता आवास कार्यक्रम जस्ता विभिन्न कार्यक्रम ल्याउन सुझाव दिएको छ ।