युवा वैज्ञानिक प्रोत्साहन कोष संचालन गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार १८:१७

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवा वैज्ञानिक प्रोत्साहन कोष संचालनका लागि गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार कोषद्धारा सञ्चालित पाँच वटा आयोजनाको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले कोष अहिले कार्यविधिमा रहेर संचालन भइरहेको र प्रदेश सरकारले ऐन निर्माण गरी आगामी दिनहरुमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताएका हुन् ।

नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नतर्फ सरकार तत्पर रहेको बताउँदै उनले अनुसन्धान पश्चात मानव जीवनमा प्रयोग भएन भने अनुसन्धानको औतित्य नरहने उल्लेख गरे । कोष सञ्चालन गर्न ऐन तयार भएपछि अधिकार भित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न समक्ष रहने उनको भनाई छ ।

कोषमा रहेर पाँच वटा आयोजना सञ्चालन गरिएको थियो । जसमध्ये २ वटा सम्पन्न भएको र तीन वटा सम्पन्नको तयारीमा रहेको छ ।
सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टल प्लेट सम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवम् सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् । अन्य तीन वटा आयोजनामा च्याउ (खरानी/रातो) को विकास, फिस प्रोवायोटिक आयोजना र मेडिकल प्लान्ट अन्तरगत जडिबुटीबाट फाइटो केमिकल बारेको अनुसन्धान आयोजना रहेको उनले बताइन् ।

कार्यक्रममा विद्युतीय गाडी निर्माण गर्ने आयोजना प्रमुख ईन्जिनियर बसन्त आले, मेडिकल प्लान्ट आयोजनाका प्रमुख भूवन गुरुङ,   डेन्टल प्लेट आयोजनाका प्रमुख डा. प्रभाकर पराजुलीले  आ–आफ्नो भागमा परेको आयोजनाको कामको बारेमा प्रस्ट पारेका थिए ।

यस्तै,  प्रवेश पोखरेलको नेतृत्वमा च्याउको वीउ र प्रेम तिमल्सिनाको नेतृत्वमा फिस प्रोवायोटिक आयोजनाको काम गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको एक कार्यक्रमकाबीच उक्त आयोजनाहरु सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।