अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको काठमाडौं, बारा, बाँके र मकवानपुर गरी चार छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा ५०० ग्रामसहित प्रहरीले बुधबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२–०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौको चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय बिपिन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाराको निजगढ नगरपालिका–८ तामागेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित सोही नगरपालिका–३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला परी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित सोही उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरको थाहा नगरपालिका–२ फेदिगाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङलाई अवैध लागूऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो । सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।