बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथिको छलफल सकियो

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार १६:१८
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमाथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल आज बिहीबार सकिएको हो ।

सो विधेयकमाथि तीन दिनसम्म लगातार संचालन भएको छलफलमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै सरकारलाई विभिन्न सुझावहरु दिएका थिए ।  छलफलमा प्रदेश सभाका सदस्यहरुले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्नेखालको विकासको पूर्वाधार, गुणस्तरीय स्वास्थ्य उपचार र मेडिकल शिक्षालाई बढुवा दिई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने खालको बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्य चौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउन पनि पाठ्य सामाग्री वितरण गर्न पनि बजेटको प्राथमिकतामा पर्नुपर्ने विश्वास व्यक्त गरे । साथै उनीहरुले सातै प्रदेशहरुमा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न वर्तमान ऐन कानूनलाई परिमार्जन गरी अगाडि बढाउनुपर्ने र जुनसुकै दलको नेतृत्वले भ्रष्टाचार वा अन्य कुनै पनि त्यस्ताखाले क्रियाकलामा संलग्न भएको थाहा पाएमा सरकारले कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

यसैगरी, प्रदेशको विभिन्न जिल्लामा रहेका सुकुम्बासी र अवस्थित बसोबासीहरुलाई स्थायी बसोबासको लागि जग्गा धनीको लालपुर्जा, रोजगारीको अवसर र विपन्न कृषकहरुलाई अनुदानमा पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने उनीहरुले बताएका छन् ।

यस्तै, आज बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले उक्त विनियोजित बजेटमाथिको छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारको विषयहरुमा जवाफ दिए । उनले मौजुदा मन्त्रीपरिषद्ले दलगत स्वार्थ नराखी प्रदेश सबै जिल्लाका नागरिकहरुलाई समान व्यवहारको आधारमा विकासको पूर्वाधार, आर्थिक समृद्धि एवम् पर्यटन विकासको लागि उच्च प्राथमिकतामा राख्ने दृढता व्यक्त गरे ।

उनले विनियोजित विधेयको सौद्धान्तिक र प्राथमिकतामा सदस्यहरुले उठाएका भावनात्मक मर्मलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, जिल्लाको भौगोलिक अनुसार बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुर्नस्थापन गर्न कार्यलाई तीब्रता दिन सम्बन्धित जिल्ला प्रशासनलाई स्रोतसाधन र निर्देशन पठाइसकेको जानकारी दिए ।

मन्त्री लामाले प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादन, मौसमी तरकारी खेती, पशुपंक्षी पालनलाई प्राथमिकतामा राखी दुधजन्य पदार्थलाई सर्वसाधारणको पहुँजमा पुर्याउन कृषकलाई अनुदान गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

यसैगरी उनले प्रदेशमा सुशासनको रणनीतिलाई व्यापकता बनाउने, भ्रष्टाचार नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखेर सरकारको संयन्त्र परिचालन गर्ने बताए ।बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक अपराह्न २ बजे बस्ने जानकारी दिए ।