बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकमाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल भएको छ ।
बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सांसदहरुले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफुल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालिन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।
उनीहरुले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्नेखालको विकासको पूर्वाधार, गुणस्तरीय स्वास्थ्य उपचार र मेडिकल शिक्षालाई बढुवा दिई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने खालको बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्य चौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउन पनि पाठ्य सामाग्री वितरण गर्न पनि बजेटको प्राथमिकतामा पर्नुपर्ने विश्वास व्यक्त गरे ।
साथै उनीहरुले सातै प्रदेशहरुमा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न वर्तमान ऐन कानूनलाई परिमार्जन गरी अगाडि बढाउनुपर्ने र जुनसुकै दलको नेतृत्वले भ्रष्टाचार वा अन्य कुनै पनि त्यस्ताखाले क्रियाकलामा संलग्न भएको थाहा पाएमा सरकारले कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
यसैगरी, प्रदेशको विभिन्न जिल्लामा रहेका सुकुम्बासी र अवस्थित बसोबासीहरुलाई स्थायी बसोबासको लागि जग्गा धनीको लालपुर्जा, रोजगारीको अवसर र विपन्न कृषकहरुलाई अनुदानमा पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने उनीहरुले बताएका छन् ।
उनीहरुले प्रदेशको १३ जिल्लाको ११९ वतै स्थानीय निकायलाई अझ प्रभावकारी ढंगबाट परिचालन गरी सर्वसाधारणहरुलाई सेवा सुविधा सहज ढंगबाट उपलब्ध गराउनेखालको बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
विनियोजित विधेयकको सैद्धान्तिक पक्षमा प्रदेश सभाका सदस्यहरु तारानाथ श्रेष्ठ, मायादेवी शर्मा, आनन्द मोहन श्रेष्ठ, कुमारी तामाङ, डा. दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, रामप्रसाद ढुंगानाले छलफलमा सहभागी भई सुझाव प्रस्तुत गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक भोलि जेष्ठ ११ गते बिहीबार विहान ८ बजे बस्ने प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले जानकारी दिइन् ।