प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पायो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकारको गठन भएको ५ महिनामा प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
गत पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो ।
एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिँदा कांग्रेसले समर्थन गर्यो । सोहीअनुसार उनले कांग्रेस समेतका दललाई चित्त बुझाएर बल्ल आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
एमालेले फागुन १५ गतेसम्म सरकारलाई समर्थन गरेको थियो । त्यो बिचमा प्रचण्डले ४ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार प्रचण्डले पुस ११ मा सानो आकारको मन्त्रिपरिषद् बनाए भने त्यसपश्चात माघ ३, माघ १४, २३ र फागुन १४ गतेसमेत मन्त्रिपरिषद् विस्तार गरे ।
जसअनुसार प्रचण्डले फागुन १६ गते, चैत्र १७ गते, बैशाख ३ गते, २१ गते र २४ गते फेरि मन्त्रिपरिषद् विस्तार गरे । आज आएर फेरि जसपाबाट मन्त्री थप्दै प्रचण्डले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
आज जसपार्का तर्फबाट वीरेन्द्र प्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा र प्रमिला कुमारीललाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।