स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १५:३०
सांकेतिक तस्बिर

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारु रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

यस्तै, यता पर्साको वीरगन्ज महानगरपालिका–६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रुपैयाँसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साह रहेका छन् ।

प्रहरी चौकी इनार्वाबाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसनधान गरिरहेको जनाइएको छ ।