बलात्कार अभियोगपछि फरार भएका शिक्षक प्रहरीको नियन्त्रणमा
दाङ । दाङमा आफूले पढाउने स्कुलकी छात्रामाथि बलात्कार गरेको अभियोगपछि फरार भएका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बलात्कार अभियोगमा शान्तिनगर गाउँपालिका– ७ घर भई स्थानीय शिवशक्ति मावि धनौरीमा पढाउँदै आएका ३५ वर्षीय शिक्षक खुमानन्द पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पौडेलमाथि चैत्र २० गते बेलुकी सोही स्कुलको कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई सिँढीमुनि लगी बलात्कार गरेको अभियोग छ । तुलसीपुरकी ती पीडित छात्राले गत चैत्र २१ गते अभिभावकसहित इलाका प्रहरी कार्यालयमा पुगेर पौडेलविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।
लगत्तै फरार भएका पौडेल भागेर भारत पुगेको सूचनापछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा उनलाई नियन्त्रण गरी नेपाल ल्याएको जनाइएको छ ।
पौडेललाई शनिबार इलाका प्रहरी कार्यालय ल्याई बलात्कार सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको छ । जिल्ला अदालतले पौडेललाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको छ ।
