अवैध लागूऔषधसहित १४ जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ७, आईतवार १७:३५

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मकवानपुर, बाँके, झापा, कैलाली, सुर्खेत र मोरङ गरी छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको काठमाडौं महानगरपालिका–१६, पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स ३ ग्राम ५ मिलिग्राम, चरेश २६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित चार जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीले जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी ४ जनालाई पक्राउ गरेको हो । उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित सडकखण्डबाट अवैध लागूऔषध गाँजा ९२ किलोसहित आइतबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भएका १८ वर्षीय किशोरसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–३, मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका–१ बस्ने २२ वर्षीय समिर दर्जीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१८, मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । उनीहरुको खोजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।