बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८० जेष्ठ ७, आईतवार १६:१०

मकवानपुर । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै नियुक्त गरेका ६ जना नयाँ मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख शर्माले एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, मसिना खड्का, पुकार महर्जन, रामकृष्ण चित्रकार तथा एकीकृतको तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही अनुरुप उनीहरुलाई मन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

उक्त शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल तथा मन्त्रीहरु, मन्त्रिपरिषद्का प्रमुख सचिव र सचिवहरु, सुरक्षा निकायका उच्च अधिकृतलगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।