बोर्डलाई दिनुपर्ने रकम प्रणाली हटाइदिन मुख्यमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १८:२६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक कल्याणकारी विज्ञापन बापत मिडियाले बोर्डलाई दिनुपर्ने ३ प्रतिशत रकम प्रणाली हटाइदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार हेटौंडामा नेपाल सरकार विज्ञापन बोर्डको आयोजनामा भएको विज्ञापन नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् ।

बोर्ड सम्बन्धी कानून नियम नभएकोले ऐन र नियमावली निर्माण गरी बोर्डलाई प्रादेशिक रुपमा लैजाने र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले दर्ता भएका विज्ञापन एजेन्सी हजारौं संख्यामा भएपनि क्रियाशील सयौं संख्यामा मात्रै रहेको उल्लेख गर्दै कानूनको व्यवस्थामा बोर्डको ध्यान गई संशोधन गर्नुपर्ने ठाउँमा संशोधन गरेर जान आग्रह गरे ।