विपद्को मूख्य कारण डोजरे विकास संस्कृति हो : मन्त्री श्रेष्ठ
चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले विपद्को मुख्य कारण डोजरे विकास संस्कृति रहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले बिहीबार चितवनको नारायणी तिरमा आयोजना गरिएको जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै विपद्को मुख्य कारण प्रकृतिलाई घाउ लगाएर डोजरे विकास संस्कृति रहेको बताएका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले वातावरणमैत्री विकासको बारेमा गम्भीरतापूर्वक सोच्न नसक्दा विपद्को सामना गर्न परेको बताए । मन्त्री श्रेष्ठले असिमित आवश्यकताहरुलाई सम्बोधन र समाधान गर्ने क्रममा जथाभावी भौतिक पूर्वाधार निर्माण गरिनु नै विपद्को प्रमुख कारक बन्न गएको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारका प्रतिनिधिहरुले विकासको संस्कृति निर्माण गर्नेतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय र प्रशासनिक संरचनामा रहेकाहरुलाई नीति निर्माण गर्दै गर्दा समन्वय र परिचालन गर्न जरुरी रहेको मन्त्री श्रेष्ठको भनाई छ ।
उनले प्रविधिमा जोड दिएर वातावरण र पर्यावरण मैत्री संस्कृतिको निर्माण गर्नुका साथै संरचनात्मक तयारी, दक्ष जनशक्ति निर्माण, उद्दार र राहत सामग्रीको भण्डारण, जोखिमयुक्त पालिकामा मनसुन पूर्व नै आर्थिक सहयोग गरि जनतालाई खतराको सूचना दिनेलगायतका कार्य गर्न सके विपदबाट बच्न सकिने र क्षति न्यूनिकरण हुँदै जाने सक्ने बताए ।
