‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार ०९:५४

चितवन । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् ।

उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको हो ।

भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।