सहकारीको पैसा चोरी गर्ने मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । प्रहरीले काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई आज पक्राउ गरेको छ ।
पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएका दुई जनालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामा रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोली पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
