क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्राती रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको छ ।
उनले त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट पाँच लाख असुलेको फेला परेको हो ।
यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको जनाइएको छ ।
