भारतीयको कुटाइबाट नेपाली युवकको मृत्यु
भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पद रूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् ।
यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ । स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहन्थे ।
सोही क्रममा उनी आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको जनाइएको छ ।
मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
