अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔगाधसहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सिरहा, कैलाली, कञ्चनपुर र मोरङ गरी पाँच छुट्टाछुट्टै जिल्लाबाट ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले झापाको दमक नगरपालिका–३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्वु राईलाई अवैध लागूऔषध गाँजा १७ केजीसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट अवैध लागूऔषध गाँजा २ केजीसहित सुखिपुर नगरपालिका–८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमातलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ बनबसाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित भजनी नगरपालिका–३ ढुषी बस्ने २२ वर्षीय रन्जित पौडेलसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र सानो तराजु १ थानसहित बेलौरी नगरपालिका–३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८४ मिलिग्रामसहित झापा मेची नगरपालिका–१ बस्ने २९ वर्षीय आशिष सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
