बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा प्रहार

तु खबर संवाददाता
२०८० बैशाख २५,सोमबार १५:५८

कालीकोट । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा प्रहार गरेको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न प्रहरी टोली‌ त्यहाँ गएको थियो । उनका आफन्तले उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

ढुंगामुढा प्रहारबाट गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ ।

आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए । बुढामाथि २०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको जनाइएको छ ।