मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ४ कटुन्जेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा खटिएको २६ जनाको टोलीले ५११ किलो ९०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा (१८४ किलो १०० ग्राम गाँजा, नगद रु. ५५ हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा (३२७ किलो ८०० ग्राम गाँजा) बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
