अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार १७:२६

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, झापा र कैलाली गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्रबहादुर थिङलाई अवैध लागूऔषध गाँजा १७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै सोही व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भिम बहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

यस्तै, प्रहरीले झापाको दमक नगरपालिका–१ दमक फन पार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८०० मिलिग्रामसहित कमल गाउँपालिका–६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–९ प्रणामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३०० मिलिग्राम, मोवाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १०० मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रकाश रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।