हेटौंडाबाट तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० बैशाख १६, शनिबार ०८:४३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित रोशन होटल अगाडिबाट शुक्रबार लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार साँझ ५ बजेको समयमा उक्त होटल अगाडि रोकी राखेको बीआर ०६ सीजेट ३५०५ नम्बरको भारतीय गाडीलाई चेकजाचँ गर्दा लागूऔषध अफिम अन्दाजी ३०० मिलीग्राम बरामद भएपछि गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा गाडी चालक भारत मोतिहारी फुलबारीया बस्ने वर्ष २८ को मुकेश प्रसाद पासवान, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० को पिंकु शर्मा र वर्ष ४५ को कपिलदेब सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षक राम नारायण यादवको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।