बालबालिकालाई छुटेको खोप लगाइँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरी एकैसाथ खोप लगाउँदैछ ।
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र बैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए ।
उनले दुई दिन खोप लगाउन छुटेका ५ वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै संचालन गरिएको जानकारी गराए ।
रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप लगाइन्छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका, २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ ।
