प्रेमबहादुर पुलामीको निर्वाचन खर्च २१ लाख रुपैयाँ

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार ०९:४८
file-photo

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले २१ लाख ११ हजार ६ सय ८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।

सांसद पुलामीले जिल्ला निर्वाचन कार्यालय मकवानपुर मार्फत निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै निर्वाचन परिचालनको लागि बनाइएको वडा स्तरीय कार्यालयहरु संचालनको लागि १४ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

त्यस्तै उम्मेदवार हुँदा सचिवालय सञ्चालन गर्दा ४ लाख ५२ हजार १५८ रुपैयाँ, चुनाव प्रचारप्रसारको क्रममा खाजा खानामा एक लाख २७ हजार १५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

निर्वाचन प्रचार–प्रसाररको क्रममा प्रयोग भएको सवारी साधनमा पेट्रोल, डिजेल हाल्न ७७ हजार ३०० रुपैयाँ खर्च भएको र वडा सचिवालयको भाडा तिर्न ५५ हजार रुपैयाँ खर्च भएको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।