तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले भारी मतले निर्वाचित

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार ०८:३०

तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७०० मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत, राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

बैशाख १० गते भएको उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो ।

यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उप–निर्वाचन भएको थियो ।