महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १७:३६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले एक कार्यक्रमबीच प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउँ पुग्ने विश्वास व्यक्त गरे । समयमै प्रतिवेदन पेश गरेकोमा खुशी व्यक्त गर्दै प्रमुख शर्माले सरकारी कार्यालयमा बढ्दो बेरुजु घटाउन विधी अनुसार चल्न, सही समयमा कार्य सम्पादन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव पनि दिए ।