उप–निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनको प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न चेतावनी दिएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै यही बैशाख १० गते बारा, चितवन र तनहुँ जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग नगर्न चेतावनी दिएको हो ।
साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको छ । मंगलबार बसेको अयोगको बैठकले यसबारे निर्णय गरेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६) मा राजनीतिक दलले प्रचार–प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको रहेपनि उप–निर्वाचन हुने क्षेत्रमा यातायातको सहज पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।
