अवैध लागूऔषधसहित पाँच जना प्रहरीको फन्दामा
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देशका कास्की, कञ्चनपुर, मोरङ र कैलाली जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुर, भिमदत्त नगरपालिका–४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ बस्ने २५ वर्षीय निराजन बोहरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट म २ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ६५ मिलिग्रामसहित पाँचथर तुम्बेवा गाउँपालिका–३ बस्ने ३० वर्षीय भानु लावतीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको भजनी नगरपालिका–५, कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित सोही नगरपालिका–३ कनैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनाविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
