मकवानपुरका लामा र स्याङ्तान पक्राउ
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारबाट गाडी र सवारी साधनको पाटपुर्जाहरु पनि चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका– २ का २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका–१२ का २३ वर्षीय किरण स्याङतान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, गत चैत्र ३० गते चोभारस्थित सुख्खा बन्दरगाहा अगाडी राजेन्द्र खड्काले पार्किङ गरी राखेको बा ५ च ९६५७ नम्बरको गाडी र चारघरेस्थितमा सुवर्ण महर्जनले संचालन गरेको चक्रतिर्थ मल्टिपरपोज प्रा.लि.को गोदामबाट सवारी साधनको पाटपुर्जाहरु चोरी भएको भएको थियो ।
तत्काल प्रहरी वृत्त किर्तिपुरबाट खटिएको टोली चोभारडाँडास्थित खाली चौरबाट चोरी भएको गाडी र सवारी साधनको पाटपुर्जाहरु सहित दुबै जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चोरी भएका टाटा डिआई गाडी एक थान, पानी तान्ने मोटर चार थान, गाडीको ब्याट्री एक थान र कवाडी पाईप, गाडीको गिल्सिन लगायत गाडीका विभिन्न पाटपुर्जाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान कुल ६ लाख ९९ हजार मुल्य बराबरको रहेको प्रहरीको अनुमान छ । लामा र स्याङतानविरुद्ध चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
