नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको आवेदन पुनः खुल्यो

तु खबर संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १५:४७
file-photo

काठमाडौं । धितोपत्र बोर्ड विरुद्धको मुद्दा खारेज भएसँगै पुनः नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको आवेदन खुल्ला भएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार एक सूचना जारी गर्दै १० दिनको अवधि राखेर नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्सको आवेदन खुल्ला गरेको हो ।

यसअघि बोर्डले गत असोज २ गते ४५ दिनको अवधि राख्दै नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको लागि एकैपटक आवेदन खुल्ला गरेको थियो । तर, ३५ दिन तोकेर ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरिएकोमा ४४ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

तर, नयाँ स्टक र कमोडिटी एक्सचेञ्जका लागि दिएको समयभित्र बोर्ड विरुद्ध सर्वोच्चमा रिट परेसँगै लाइसेन्स वितरणको प्रक्रिया स्थगित भएको थियो । निवेदन दिन समय बाँकी रहँदै कात्तिक ४ गते सर्वोच्च अदालतले यसलाई रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यद्यपि, चैत २६ गते सर्वोच्च अदालतले धितोपत्र बोर्ड विरुद्धकोे रिट खारेज गरेसँगै बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृया अघि बढाउन बाटो खुला भएको हो ।

अब इच्छुक कम्पनीहरुले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिन सक्नेछन् ।