चोरीको मोटरसाइकलसहित राई पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १५:३७
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन् ।

प्रहरीका अनुसार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२–०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।