मिटरब्याज पीडितद्वारा १९ सदस्यीय वार्ता टोली गठन

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १५:३४

काठमाडौं । मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । चैत्र २० गतेदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।

गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा सहसचिव कोइराला, मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

तर, मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार पीडितहरुले गृहमन्त्रीसँग नै वार्ता गर्ने अडान लिएका छन् । सम्भवत आजै वार्ता हुने उनको भनाई छ ।

काठमाडौंमा आएर विरोधका कार्यक्रम गरेको मिटरब्याज पीडितको एक टोलीसँग सरकारले चैत्र १८ मा पाँचबुँदे सहमति गरेको थियो । त्यो टोली फर्किएलगत्तै मिटरब्याज पीडितकै अर्को एक टोली काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।