नेपाली सेनाको सर्भर ह्याक गर्ने ढकाल प्रहरीको फन्दामा
काठमाडौं । नेपाली सेनाको सर्भर ह्याक गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
साइबर स्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
ढकाललाई साइबल ब्युरोको टोलीले बिहीबार बाटुलेचौरबाटै पक्राउ गरेको हो । ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
