मेयरको सट्टामा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका सट्टामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ ।
मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ ।
पक्राउ परेका उनी पेसाले इन्जिनियर हुनका साथै मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
