लागूऔषधहित ७ जना प्रहरीको फन्दामा

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सुनसरी र सिराह गरी तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट अवैध लागुऔषध ब्राउनसुगर ८ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश–१–०२–०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी, प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका–१० बस्ने २५ वर्षीय ललितकुमार राम र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ ।