बागमती प्रदेश : मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदल बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १६,बिहीबार ०८:२३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे काठमाडौंस्थित बानेश्वरमा बस्ने भएको हो ।

मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ । कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य रहेका छन् ।

उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन् । त्यस्तै, समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन् ।

बैठकले सरकारमा सत्ता साझेदारी अनुसार मन्त्रालय भागबण्डा गरिने कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए ।