एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार १०:२३

काठमाडौं । नेकपा एमालेले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सात वटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा आगामी बैशाख २ र ३ गते, कर्णाली प्रदेशमा बैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा बैशाख ६ र ७ गते, बागमती प्रदेशमा बैशाख १० र ११ गते, गण्डकी प्रदेशमा बैशाख १२ र १३ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ ।

यस्तै, मधेस प्रदेशमा बैशाख १४ र १५ गते, कोशी प्रदेशमा बैशाख १६ र १७ गते, गैरभौगोलिक क्षेत्रमा बैशाख १८ र १९ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ । प्रदेश तहमा गरिएको समीक्षाको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ । सोही प्रतिवेदनको आधारमा पार्टीले आगामी कार्ययोजना बनाउने बताइएको छ ।

समीक्षा बैठकमा प्रदेशमा खटिएका पार्टीका केन्द्रीय उपाध्यक्षको सहभागितामा हुनेछ । बैठकमा प्रदेशभरी खटिएका सबै केन्द्रीय सदस्य रहनेछन् । एमालेले चैत्र २० गतेभित्र मिसन ग्रासरुट अभियान सम्पन्न गर्न निर्देशन दिएको छ ।