भाइको हत्या गरेको आरोपमा दाई पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार ०८:१०

सिरहा । सिरहामा आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या गरेको आरोपमा उनकै दार्इ ४२ वर्षीय रामचन्द्र गोसाईँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका–३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा काम गर्ने उनीहरूबीच आपसका झगडा भएको थियो । सोही झगडामा दाई रामचन्द्रले भाइलाई टाउको सहित शरिरको विभिन्न भागमा चोटपटक लागेका थिए । उनको उपचारको क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।

भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत्र ९ गते कन्चनपुर महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।