प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा गत चैत्र ७ मा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका उनीहरुले धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जिल्ला जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार उनीहरूलाई जनही ५ हजार धरौटीमा छाड्ने निर्णय गरेका थिए ।
तर, उनीहरूले धरौटी रकम नतिरेपछि कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
उनीहरू विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा उनीहरुले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । उनीहरू ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य हुन् ।
