‘प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता’

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १८:११
file-photo

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन् ।

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै उनले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताए ।

व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनको भनाई छ ।