थारु आयोगद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १५:१६

मकवानपुर । थारु आयोगले बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आइतबार एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

अध्यक्ष चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता व्यक्त गरे । उनले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यपक्षको पहलकदमी सकारात्मक रहेको बताए ।

यस्तै, आयोगका अध्यक्ष चौधरीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गरे । साथै उनले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताए ।