तनहुँ–१ को उपनिर्वाचका लागि कांग्रेसका १३ जनाले दिए उम्मेदवारी
काठमाडौं । आगामी बैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसका १३ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्ममा सो संख्यामा उम्मेदावरी दिएका हुन् ।
शुक्रबार ६ जना र शनिबार ७ जनाले उम्मेदावारी दिएको कांग्रेसका क्षेत्रीय सचिव दयानिधी नरालले बताए । उनका अनुसार केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिएका छन् ।
यस्तै शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले उम्मेदवारी दिएका हुन् ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।
