प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधबार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।
