बागमती प्रदेश सभाको बैठक स्थगित

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १५:५६

मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आज बस्ने प्रदेश सभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर,नेपाली कांग्रेसको काठमाडौंमा बसेको संसदीय दलको बैठकका कारण आजकोब बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्राचार गरेपछि बैठक स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रदेश सभाको अर्को बैठक यही चैत्र १० गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो । प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।

राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा विस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।